मंसिर १५ गतेदेखि ललित अम्बर डिपो कप हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आगामी मंसिर १५ गतेदेखि १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप शुरु हुने भएको छ ।
डिपो माविद्धारा आयोजना हुने यस डिपो कप आगामी मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डिपो माविका प्राचार्य राजकुमार राईले पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरूलाई मात्र प्राथमिकताका आधारमा प्रतियोगितामा सहभागी हुने जानकारी दिए। उनका अनुसार पहिलो चरणमा पराजित टिमहरु पुनः दिलकुमार प्लेट च्याम्पियन कपमा सहभागी हुन पाउनेछन्। प्रतियोगितामा कक्षा ५ सम्मका र १२ बर्षमुनिका विद्यार्थीहरु मात्र सहभागी हुन पाउने प्राचार्य राईले बताए।
यसैगरी पत्रकार सम्म्ेलनमा डिपो स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकले साना उमेरका विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गराउन र उनीहरूमा निहित खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणप पाउनेछ । यसैगरि, प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।


ललित अम्बर डिपो कपको १७ औं संस्करणमा धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान १७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान १६ तेस्रो भएको थियो । यस्तै, धरान १७ को एक्वा डायनेष्टी स्कुल प्लेट च्याम्पियन भएको थियो भने बराह राईजिङ स्टार स्कुल बराहक्षेत्र उपविजेता भएको थियो ।
डिपो स्कुलको खेल मैदानमा हुने सो प्रतियोगिताका लागि अनुमानित कुल ४ लाख ७६ हजार ८ सय ६० रुपैयाँ खर्च हुने विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिए।